ओली समूहबाट अलग्गिएका नेताहरू अलग उम्मेदवारीसहित मैदानमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

२९ मंसिर ,काठमाडौ-उम्मेदवारी बाँडफाँटलाई लिएर असन्तुष्ट बनेका नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अलग्गिएर छुट्टै उम्मेदवारीसहित निर्वाचन मैदानमा उत्रिएका छन्।

अध्यक्ष ओलीले सोमबार बिहान आफ्ना पक्षका उम्मेदवारको सूची तयार गरी सोहीअनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएका थिए। सो सूचीअनुसार अध्यक्ष पदमा ओली स्वयं उम्मेदवार छन् भने उपाध्यक्षमा रामबहादुर थापा, विष्णु पौडेल, गुरुप्रसाद बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको नाम थियो।

ओलीको निर्देशनअनुसार थापा, पौडेल, बराल र गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरे। तर, प्रदीप ज्ञवालीले उपाध्यक्ष पद त्याग्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए। महासचिवका आकांक्षी रहेका ज्ञवालीले नेतृत्वले एउटै व्यक्तिलाई बारम्बार दोहोर्‍याएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

महासचिवमा शंकर पोखरेललाई पुनः उम्मेदवार बनाइएपछि ज्ञवालीको असन्तुष्टि बढेको बताइएको छ। दशौँ महाधिवेशनबाट उपमहासचिव बनेका ज्ञवालीका लागि यसपटक महासचिवमा दाबी स्वाभाविक मानिँदै आएको थियो।

ओलीसँग असन्तुष्ट बनेका अर्का नेता अग्नि खरेल हुन्। सचिव पदका दाबेदार खरेललाई केन्द्रीय सदस्यमा झारिएपछि उनले ओलीको सूची अस्वीकार गर्दै सचिव पदमै उम्मेदवारी दर्ता गराएका छन्। खरेल स्थायी कमिटी सदस्य तथा पूर्व कानून मन्त्रीसमेत हुन्।

त्यसैगरी प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि ओली समूहबाट अलगिएका छन्। उनलाई केन्द्रीय सदस्यमा सीमित गर्न खोजिएपछि गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिएका हुन्। नेतृत्वले मूल्यांकन नगरेको उनको आरोप छ।

ओलीका कट्टर समर्थक मानिएका कृष्णगोपाल श्रेष्ठले पनि ओली समूह छोडेका छन्। स्थायी कमिटी सदस्यबाट केन्द्रीय सदस्यमा झारिएपछि उनले सचिव पदमा उम्मेदवारी दिएका छन्।

पूर्व मन्त्री लालबाबु पण्डितले पनि ओलीको निर्देशन अस्वीकार गर्दै सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि पार्टीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई संगठनमा प्रयोग गर्न चाहेको उनको भनाइ छ।

यसैगरी रघुजी पन्तले पनि ओलीको समूह छोड्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। स्थायी कमिटी सदस्यबाट केन्द्रीय सदस्यमा झारिनु स्वीकार्य नभएको भन्दै उनले फरक बाटो रोजेका हुन्।

यद्यपि उम्मेदवारी वितरणप्रति असन्तुष्टि जनाउने केही नेताका माग भने ओलीले सम्बोधन गरेका छन्। लेखराज भट्टले सचिव पद नलड्ने घोषणा गरेपछि उनलाई उपमहासचिव बनाइएको छ भने भानुभक्त ढकाललाई सचिवमा सारिएको छ।

एमाले अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। महासचिवमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार बनेका छन्।

सोमबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ भने मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने एमाले केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

Leave a Comment