काठमाडौं, पुस ८ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको लामो भेटवार्ताले जेनजी आन्दोलनमा नयाँ ऊर्जा भरेको छ । वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने माग उठाउँदै आएका जेनजी समूहहरू यो संवादलाई सम्भावनाको ढोका खुलेको संकेतका रूपमा लिइरहेका छन् ।
सोमबार राति करिब सात घण्टा चलेको रवि–बालेन भेट र त्यसपछि उनीहरू एउटै गाडीमा बाहिरिनुले राजनीतिक वृत्तमा मात्र होइन, जेनजी अभियन्तामाझ पनि तरंग पैदा गरेको छ । स्रोतका अनुसार करिब पाँच घण्टा दुई नेताबीच ‘वान–अन–वान’ संवाद भएको थियो, जसलाई राजनीतिक एकताको गृहकार्यका रूपमा हेरिएको छ ।
जेनजीको दबाब: ‘अब एकताको विकल्प छैन’
द काउन्सिल अफ जेनजीका अगुवा सुदन गुरुङले रवि–बालेन भेटपछि आफूहरू उत्साही र आशावादी बनेको बताए । उनका अनुसार वैकल्पिक शक्ति एक हुनुपर्ने विषयमा आफूहरूले निरन्तर दबाब र सहजीकरण गर्दै आएका छन् ।
“अब रवि, बालेन र कुलमान घिसिङ पनि एउटै प्लेटफर्ममा आए भने झन् बलियो सन्देश जान्छ,” गुरुङले भने, “त्यसो भयो भने हामी जेनजीहरू पनि सोही राजनीतिक शक्तिसँग जोडिने सम्भावना प्रबल हुन्छ।”
प्रधानमन्त्रीको सम्भावित अनुहारको बहससम्म चलेको बताउँदै गुरुङले बालेनलाई अघि सार्ने तर्क पनि खुलाए । “रविजीमाथि विभिन्न कानुनी प्रश्न छन्, त्यसैले प्रधानमन्त्रीको रूपमा बालेन बढी उपयुक्त देखिन्छ,” उनको भनाइ छ ।
एकताका असफल प्रयासदेखि नयाँ संकेतसम्म
जेनजी आन्दोलनपछि कुलमान घिसिङ, बालेन शाह र रवि लामिछानेसहितका वैकल्पिक पात्रहरूलाई एक ठाउँमा ल्याउने प्रयास पटक–पटक भए । ‘उज्यालो नेपाल पार्टी’देखि ‘नेपाल जनसेवा पार्टी’सम्मका नाममा छलफल चले पनि अन्तिम घडीमा सहमति जुट्न सकेन ।
त्यसपछि जेनजी समूहहरूको ध्यान बालेनतर्फ केन्द्रित भयो । उनलाई केन्द्रमा राखेर नयाँ राजनीतिक शक्ति निर्माण गर्ने बहस चलिरहेकै बेला कुलमान–बालेनको तस्बिर सार्वजनिक भयो । त्यसपछि रवि लामिछानेलाई पनि समेट्ने प्रयास तीव्र बनेको जेनजी अगुवाहरू बताउँछन् ।
आशा छ, तर सतर्कता पनि
जेनजी फ्रन्टका अगुवा युजन राजभण्डारी वैकल्पिक शक्तिबीच संवाद सुरु हुनु सकारात्मक भए पनि दीर्घकालीन सोच, स्पष्ट विचार र सिद्धान्त आवश्यक रहेको बताउँछन् ।
“केवल व्यक्तिहरू मिल्नु पर्याप्त हुँदैन, विचार र एजेन्डामा स्पष्टता चाहिन्छ,” उनले भने ।
यस्तै, जेनजी अभियन्ता साङ्केन राई तत्कालै निचोड निकाल्न हतार गर्न नहुने बताउँछिन् । “रवि र बालेन दुवैप्रति जनआशा छ, तर उनीहरूको कार्यशैली र राजनीतिक दृष्टिकोण लोकतान्त्रिक मूल्यसँग कत्तिको मेल खान्छ, त्यो हेर्नुपर्छ,” उनको धारणा छ ।
‘पुरानाभन्दा नयाँ विकल्प राम्रो’ भन्ने मनोविज्ञान
जेनजी अगुवा खेमराज साउद भने वैकल्पिक शक्तिहरूबीच संवाद सुरु हुनु नै नेपाली राजनीतिमा आशाको संकेत भएको मान्छन् ।
“पुराना दलका पुरानै अनुहार फर्कनुभन्दा नयाँ शक्तिहरू मिलेर अघि बढ्नु जनचाहना हो,” उनले भने, “तर जेनजी आन्दोलनका माग र म्यान्डेटलाई आत्मसात् गर्ने शर्तमा मात्र हामी साथ दिन्छौं।”

