९ पुस,काठमाडौँ । निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसारको कानुनी दायित्व पूरा नगरेपछि आयोगले उक्त निर्णय गरेको हो।
आयोगका अनुसार ऐनको दफा ५४ को उपदफा (४) बमोजिम लगाइएको जरिवाना समयमा नतिरेका दललाई दफा १२ अनुसार दर्ता खारेज गरिएको हो। यसरी खारेज हुने दलमा आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी रहेका छन्।
निर्वाचन आयोगले कानुनको पालना सबै दलका लागि अनिवार्य भएको स्पष्ट पार्दै तोकिएको प्रक्रिया र दायित्व पूरा नगर्ने दलमाथि कारबाही जारी रहने जनाएको छ।
छ वटा दलको दर्ता खारेजीसँगै हाल आयोगमा दर्ता रहेका राजनीतिक दलको संख्या १३७ मा सीमित भएको छ।

