देउरालीका होटल–खाजाघरमा चरम ठगी भएको आरोप, सरकारको ध्यानाकर्षण गराउँदै सार्वजनिक अपील

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१३ पुस,हेटौंडा । बागमती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको देउराली क्षेत्रमा सञ्चालित होटल तथा खाजाघरहरूले यात्रुहरूमाथि चरम आर्थिक शोषण गरिरहेको आरोप लगाइएको छ। नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्षले यस विषयमा नेपाल सरकार र गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै सार्वजनिक अपील गरेका छन्।

अध्यक्षले जारी गरेको अपीलमा देउरालीका होटलहरूले राजधानी काठमाडौँको भन्दा दोब्बरसम्म मूल्य असुल्दै कुनै पनि आधारभूत सुविधा नदिएको कोठा उपलब्ध गराउने, गुणस्तरहीन तथा अस्वस्थकर खाना खुवाउने र मनोमानी रूपमा मूल्य निर्धारण गर्ने गरेको उल्लेख छ। उनका अनुसार केही होटलहरूले कोठा भाडा रु. २५०० सम्म लिने गरेका छन्, तर त्यसअनुसारको सेवा सुविधा भने नदिइएको गुनासो व्यापक छ।

यो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र १८ विपरीत रहेको भन्दै अध्यक्षले उपभोक्ताको हक संरक्षण गर्न खटिएका सरोकारवाला निकायको मौनताप्रति समेत प्रश्न उठाएका छन्। स्थानीय प्रशासनको कमजोरी र अनुगमन अभावका कारण व्यवसायीहरूको मनोबल बढ्दै गएको उनको आरोप छ।

अपीलमा उल्लेख गरिएअनुसार यस विषयमा जानकारी गराउन खोज्दा मकवानपुरका प्रमुख जिल्ला अधिकारी (CDO) सँग सम्पर्क हुन नसक्नुले सार्वजनिक सेवा प्रवाहमै गम्भीर कमजोरी देखिएको छ। हाल मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी रहेका छन्।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्षले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई तत्काल देउराली क्षेत्रमा बजार अनुगमन गर्न, दोषी होटल तथा खाजाघरलाई कानुनी दायरामा ल्याउन, उचित मूल्यसूची लागू गर्न र यात्रुहरूको सुरक्षा तथा सुविधा सुनिश्चित गर्न जोडदार माग गरेका छन्।

उनले समयमै सरकारी निकायले हस्तक्षेप नगरे यात्रुहरूको स्वास्थ्य, सुरक्षा र उपभोक्ता अधिकारमाथि गम्भीर असर पर्ने चेतावनी समेत दिएका छन्।

Leave a Comment