नवौँ एनभिए भलिबल च्याम्पियनसिप: पुलिस र एपिएफ सेमिफाइनलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, पुस १६
नवौँ एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस क्लब र एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार सम्पन्न महिला तर्फको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई रोमाञ्चक प्रतिस्पर्धामा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। पुलिसले यो जितसँगै लगातार दोस्रो खेलमा सफलता हात पारेको हो।

खेलको सुरुआतमा पुलिसले २५–२१ र २५–१५ ले पहिलो दुई सेट आफ्नो पक्षमा पारेको थियो। त्यसपछि एपिएफले तेस्रो र चौथो सेट २५–२२ र २५–२१ ले जित्दै खेल बराबरीमा ल्यायो। निर्णायक पाँचौँ सेटमा भने पुलिसले १५–९ को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्‍यो। समूह ‘बी’ मा एक खेल गुमाए पनि बाँकी दुई खेल जितेको एपिएफ पनि अन्तिम चारमा पुगेको छ।

यता, अर्को खेलमा टिप टप न्यु डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्‍यो। न्यु डायमन्डले २५–२१, २५–१५ र २५–१४ को जित निकाल्यो।

पुरुष तर्फ खिलजी युवा क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१५, २५–१९ र २५–२३ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ। पहिलो जितसँगै खिलजीले अन्तिम आठमा प्रवेश गरेको हो। समूह चरणका दुवै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताको रूपमा नकआउट चरणमा पुगिसकेको छ।

खिलजीले अब क्वाटरफाइनलमा समूह ‘डी’ विजेता त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, एपिएफ क्लबले मणिमकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो। समूह ‘ए’ को अन्तिम खेलमा एपिएफले मणिमकुन्दलाई २५–१०, २५–१६ र २९–२७ ले पराजित गरेको हो। एपिएफ समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ।

समूह ‘ए’ कै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले एपिएफ र मणिमकुन्द दुवैलाई पराजित गर्दै समूह विजेताको हैसियतमा अन्तिम आठमा स्थान बनाएको छ। एपिएफले क्वाटरफाइनलमा समूह ‘सी’ विजेता रुकुमपश्चिम भलिबल क्लबको सामना गर्नेछ। रुकुमपश्चिमले बुढानीलकण्ठ र जावलाखेल भलिबल क्लबलाई हराउँदै समूह विजेता बनेको हो।

Leave a Comment