१७ पुस,काठमाडौं । भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि औपचारिक पत्र पठाउने तयारी गरेको छ। आयोगले आवश्यक प्रक्रिया अघि बढाइसकेको र छिट्टै पत्र काटिने जनाएको छ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेन–जी आन्दोलनसँग जोडिएका विषयमा ओलीसँग स्पष्टिकरण लिनुपर्ने आवश्यकता देखिएकाले बयानका लागि बोलाउन लागिएको बताए।
“हामी उहाँलाई बोलाउने प्रक्रियामा छौं,” अध्यक्ष कार्कीले भने, “पत्र पठाइन्छ।”
यदि पत्र पाएपछि पनि ओली उपस्थित नभए के हुन्छ भन्ने प्रश्नमा उनले भने, “आउनुभएन भने त्यसबेला आवश्यक निर्णय हुन्छ, भोलिको कुरा भोलि नै तय हुन्छ।”
आयोगका अनुसार निवर्तमान गृहमन्त्री रमेश लेखकको बयान प्रक्रिया भने सम्पन्न भइसकेको छ। बयान सकिएसँगै लेखकका हकमा लगाइएको स्थान हद (यात्रा प्रतिबन्ध) फुकुवा गर्ने तयारी पनि भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए।
यसैबीच, आयोगलाई थप गरिएको एक महिनाको म्यादभित्रै छानबिन सम्पन्न गरी प्रतिवेदन बुझाइने दाबी गरिएको छ। “म्याद थप भएको समयभित्रै प्रतिवेदन तयार पारेर बुझाउँछौं,” अध्यक्ष कार्कीले स्पष्ट पारे।
जाँचबुझ आयोगले पछिल्ला दिनमा उच्च तहका नेताहरूसँग बयान लिने क्रम तीव्र बनाएको छ भने प्रतिवेदन निष्कर्षमुखी चरणमा प्रवेश गरिरहेको जनाएको छ।






