१९ पुस,झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ (कलसाइन ९०१) जहाज रन–वे पार गर्दै ३०० मिटर पूर्वतर्फ ओभर रन भएपछि घाँसे झाडी र माटोमा भासिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शुक्रबार राति ९ः१० बजे अवतरण गर्ने क्रममा भएको उक्त दुर्घटनामा को–पाइलटसहित सात जना यात्रु सामान्य घाइते भएका छन् । जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए ।
प्रहरीका अनुसार घाइते हुनेमा ललितपुर–४ निवासी २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ रहेका छन् । टाउको र अनुहारमा चोट लागेका श्रेष्ठको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेमध्ये भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र उनकी १६ वर्षीया छोरी प्रिया घतानी रहेका छन् । उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बुको कमान्डमा ७० जना प्रहरी परिचालन गरिएको थियो । उद्धार टोलीले सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा जहाजबाट बाहिर निकाली तत्काल अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
उक्त जहाज शुक्रबार राति ८ः२३ बजे काठमाडौंबाट उडेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र प्राविधिक टोली घटनास्थलमा खटिएको बताइएको छ ।

