बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

१९ पुस,काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले करिब डेढ लाख निर्वाचन प्रहरी भर्ना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको समन्वयमा निर्वाचन प्रहरी भर्ना तथा खटनपटनसम्बन्धी मापदण्ड तयार भइसकेको गृह मन्त्रालयले जनाएको छ।

शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकले निर्वाचन प्रहरी भर्ना, तालिम र परिचालनसम्बन्धी मापदण्ड टुंगो लगाएको हो। अब दुवै सुरक्षा निकायले आ–आफ्नो तर्फबाट आवश्यक जनशक्तिको प्रस्ताव गृह मन्त्रालयमा बुझाउनेछन्। गृहसचिवको स्वीकृति पाएसँगै भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

गृहका एक अधिकारीका अनुसार आइतबारसम्म मापदण्ड स्वीकृत गर्ने तयारी गरिएको छ। ‘अब प्राविधिक काम मात्र बाँकी छ। स्वीकृत भएपछि जिल्ला प्रहरी कार्यालयमार्फत भर्ना प्रक्रिया सुरु हुनेछ,’ ती अधिकारीले भने।

गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार र सशस्त्र प्रहरी बललाई १५ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने तयारी गरेको छ। यसअघि नेपाल प्रहरीले १ लाख ३७ हजार ६ सय ४४ र सशस्त्र प्रहरीले १६ हजार जनशक्ति माग गरेको थियो। बजेट र आवश्यकता हेरेर माग केही कटौती गरिएको हो।

निर्वाचन प्रहरी भर्नाका लागि आवश्यक बजेट अर्थ मन्त्रालयले सुनिश्चित गरिसकेको छ। स्वीकृत मापदण्डअनुसार भर्ना भएका निर्वाचन प्रहरीलाई १० दिनको आधारभूत तालिम दिइनेछ। तालिमपछि उनीहरूलाई एक महिनाका लागि निर्वाचन सुरक्षामा खटाइनेछ।

नेपाल प्रहरीले भर्ना गर्ने निर्वाचन प्रहरी नेपाल प्रहरीसँगै परिचालित हुनेछन् भने सशस्त्र प्रहरीले भर्ना गर्ने जनशक्ति सशस्त्र प्रहरीकै कमान्डमा रहनेछन्। सेवासुविधा भने नियमित प्रहरी जवान सरह हुनेछ। उनीहरूले बीमा, पोसाक तथा रासन भत्ता समेत पाउनेछन्।

निर्वाचन प्रहरी भर्नामा पूर्व सुरक्षाकर्मी तथा यसअघिका निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई विशेष प्राथमिकता दिइने गृह मन्त्रालयले जनाएको छ। अधिकांश मापदण्ड अघिल्ला निर्वाचनकै जस्तै राखिएको छ।

यसअघि २०७९ सालको निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी खटाइएको थियो। तर यसपटक मतदानस्थल संख्या बढेकाले जनशक्ति पनि थप गरिएको हो। निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा देशभर १० हजार ९ सय ६७ मतदानस्थल रहनेछन्, जुन अघिल्लो निर्वाचनभन्दा १६८ ले बढी हो।

तीमध्ये करिब ३ हजार ५ सय मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। सुरक्षा चुनौती बढेकाले थप ३५ हजार निर्वाचन प्रहरी परिचालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

यसपटक पहिलो पटक सशस्त्र प्रहरीले पनि निर्वाचन प्रहरी भर्ना गर्नेछ। स्ट्राइकिङ टोलीमा खटाइने जनशक्तिमा समेत परिवर्तन गरिएको छ। यसअघि १८ जनाको टोली रहनेमा अब ६ जना निर्वाचन प्रहरी थपिनेछन्। मोबाइल गस्तीमा पनि १२ जनाको टोली रहनेछ, जसमा ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी रहने व्यवस्था गरिएको छ।

निर्वाचन सुरक्षालाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीले अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको कमान्डमा छुट्टै निर्वाचन सुरक्षा सेलसमेत गठन गरेको छ।

Leave a Comment