काठमाडौं, पुस १९, २०८२ ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले यमनमा तैनाथ आफ्ना सशस्त्र बल फिर्ता गरेको छ। यूएईको रक्षा मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै यमनबाट सेना फिर्ता गरिएको औपचारिक जानकारी दिएको हो।
यमनका पृथकतावादी समूहलाई समर्थन गरेको विषयलाई लिएर पछिल्ला दिनहरूमा साउदी अरब र यूएईबीच तनाव बढ्दै आएको थियो। यहीबीच साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा गरेको हवाई आक्रमणपछि विवाद थप चर्किएको बताइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सो आक्रमणमा यूएईबाट आएका कथित हतियार र सैन्य सवारीसाधनलाई निशाना बनाइएको थियो। त्यसपछि साउदी अरबले यमनबाट यूएईको सेना फिर्ता गर्न अल्टिमेटम दिएको थियो। यही पृष्ठभूमिमा यूएईले आफ्नो सशस्त्र बल फिर्ता गरेको अनुमान गरिएको छ।
युएईको सेना फिर्ता हुँदै गर्दा यमनभित्रको द्वन्द्व भने पुनः चर्किएको छ। विशेषगरी दक्षिणी यमनमा साउदी अरबसँग जोडिएको सीमा क्षेत्रमा फेरि लडाइँ सुरु भएको जनाइएको छ।
यमनमा लामो समयदेखि हुथी विद्रोही समूह र सरकारी पक्षबीच गृहयुद्ध जारी रहँदै आएको छ। पछिल्लो घटनाक्रमले यमनको सुरक्षा अवस्था झन् जटिल बन्दै जाने संकेत देखिएको विश्लेषकहरूले बताएका छन्।

