१९ पुस, काठमाडौं । भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना भएको भोलिपल्टदेखि नै रनवे छोट्याएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
शुक्रबार राति भएको दुर्घटनामा जहाज रनवेबाट बाहिरिएपछि विमानस्थल प्रशासनले हाल प्रयोगमा रहेको रनवेको लम्बाइ घटाएर उडान–अवतरण सुरु गरेको हो । विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकाले सुरक्षाका दृष्टिले १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा सीमित गरिएको छ ।
उनका अनुसार हालको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनका लागि पर्याप्त रहेको निष्कर्षका आधारमा विमानस्थल सञ्चालनमा ल्याइएको हो । ‘रनवे छोटो भएकाले त्यसबारे सबै पाइलटलाई नियमित जानकारी दिइरहेका छौँ,’ खत्रीले बताए ।
उनले विमानस्थल सञ्चालनका लागि आवश्यक न्यूनतम प्राविधिक मापदण्ड पूरा गरिएको र प्रत्येक उडान तथा अवतरणअघि पाइलटलाई रनवेको अवस्थाबारे स्पष्ट जानकारी गराइँदै आएको बताए । ‘अहिले प्रयोगमा ल्याइएको रनवे जहाजका लागि सुरक्षित र पर्याप्त छ,’ उनले भने ।
दुर्घटनाको यकिन कारण भने हालसम्म नखुलेको विमानस्थल प्रशासनले जनाएको छ । शुक्रबार राति करिब ९ः१० बजे काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएको थियो ।
दुर्घटनाका बेला मौसम सामान्य रहेकाले मौसमका कारण जहाज चिप्लिएको वा दुर्घटना भएको सम्भावना नरहेको खत्रीले स्पष्ट पारे । प्रारम्भिक अवलोकनमा प्राविधिक कारण हुनसक्ने आशंका गरिएको भए पनि वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।
‘मौसमका हिसाबले त्यतिखेर दुर्घटना हुने अवस्था थिएन,’ उनले भने, ‘प्राविधिक पक्षबारे सम्बन्धित निकायले अनुसन्धान गरेपछि मात्रै ठोस कारण थाहा हुन्छ ।’
दुर्घटनाग्रस्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए । घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् ।
घाइतेमध्ये को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र उनको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य छ जना यात्रु भने सामान्य उपचारपछि घर फर्किसकेका छन् ।

