नेपाली कांग्रेस बाराद्वारा दीप प्रज्वलन गर्दै वीर सहिदलाई श्रद्धाञ्जली

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा – ४ असोज ।
नेपाली कांग्रेस बाराले जेनजी आन्दोलनका वीर सहिदहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। वीर सहिदहरूको सम्मानमा दीप प्रज्वलन गर्दा उपस्थित सहभागीहरूले मौन धारण गरी सहिद आत्माको शान्तिको कामना गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले वीर सहिदहरूको बलिदान नेपालको लोकतन्त्र र सामाजिक न्यायको जग बसाल्ने आधार भएको भन्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने बताए। उनले सहिदहरूको सपना पूरा गर्न कांग्रेस निरन्तर जनताको पक्षमा लडिरहने प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी उपसभापति मनोज भट्टले सहिदहरूले देखाएको बाटो नयाँ पुस्ताका लागि प्रेरणादायी भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भई सहिदले देखाएको मार्गमा अघि बढ्न आह्वान गरे। तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलले युवाहरूले सहिदहरूको आदर्शलाई आत्मसात् गरेर समाज रुपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

कार्यक्रममा पूर्व मन्त्री कलाउती पासवान, नेतृ उषा राम, नेपाल शिक्षक सङ्घ बाराका अध्यक्ष राजकिशोर सहनीलगायतका नेताहरूको विशेष उपस्थिति थियो। उनीहरूले सहिदहरूको बलिदान देश र समाजका लागि अमूल्य भएको स्मरण गर्दै सहिद परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।

सहभागीहरूले दीप प्रज्वलन गरेर सहिद आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै लोकतन्त्र र समानताका लागि निरन्तर संघर्षरत हुने संकल्पसमेत व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी सबै महानुभावप्रति नेपाली कांग्रेस बाराले हार्दिक धन्यवादसमेत ज्ञापन गरेको छ।

Leave a comment