प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ तीव्र ,दस लाख छापिने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ पुस २०८२, काठमाडौं

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत नमुना मतपत्र छपाइको काम तीव्र रूपमा भइरहेको छ। जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचन आयोगको समन्वयमा मतपत्र छपाइ कार्य अघि बढाइएको हो।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार पहिलो चरणमा निर्वाचन प्रयोजनका लागि नमुना मतपत्र छपाइ सुरु गरिएको छ। निर्वाचन आयोगले करिब १० लाख नमुना मतपत्र छापिने जनाएको छ। यससँगै समानुपातिक प्रणालीतर्फका मतपत्र पनि ठूलो संख्यामा छापिने तयारी गरिएको छ।

केन्द्रका अनुसार समानुपातिकतर्फ करिब २ करोड ८ लाख मतपत्र छपाइ गरिनेछ। यस निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ६४ वटा राजनीतिक दलले बन्दसूची बुझाएका छन्। तीमध्ये १० वटा दलले एकल निर्वाचन चिह्न प्रयोग गरी चुनाव लड्ने भएका छन्।

यसअनुसार समानुपातिक मतपत्रमा कुल ५८ वटा निर्वाचन चिह्न समावेश गरिनेछ। निर्वाचनको मिति नजिकिँदै जाँदा आवश्यक सामग्री समयमै उपलब्ध गराउने उद्देश्यले छपाइ कार्यलाई उच्च प्राथमिकतामा राखिएको सम्बन्धित निकायले जनाएको छ।

Leave a Comment