पुलिसको दबदबा तोड्दै डायमन्डको लगातार सफलता, राष्ट्रिय महिला भलिबलको उपाधि हात पार्‍यो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २७ पुस २०८२ — टिपटप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले साबिक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै नवौँ केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार सम्पन्न फाइनल खेलमा डायमन्डले पुलिसलाई ३–१ सेटले पराजित गर्दै उपाधि सुरक्षित गर्‍यो। प्रतिस्पर्धात्मक खेलमा डायमन्डले पहिलो सेट २५–२२ र दोस्रो सेट २२–१८ ले जित्दै बलियो सुरुवात गर्‍यो। तेस्रो सेट भने पुलिसले २५–१५ ले जित्दै खेलमा फर्किने संकेत दिएको थियो। तर निर्णायक चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डायमन्डले २७–२५ को रोमाञ्चक जित निकाल्दै उपाधि आफ्नो नाममा लेखायो।

यो जितसँगै डायमन्डले एक साताभित्र लगातार दोस्रो ठूलो उपाधि जित्न सफल भएको छ। यसअघि सम्पन्न एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा पनि डायमन्डले पुलिसलाई नै पराजित गर्दै उपाधि जितेको थियो। पुलिस क्लब भने लगातार दोस्रो पटक फाइनलमा डायमन्डसँग पराजित हुन पुगेको छ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको डायमन्डले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता पुलिस क्लबले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो।

यसै प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। एपीएफले २५–१३, २५–२३ र २५–१८ को जित निकाल्दै तेस्रो स्थान हासिल गर्‍यो।

तेस्रो बनेको एपीएफ क्लबले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्दा चौथो स्थानमा सीमित आर्मी क्लबले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार पाएको छ।

Leave a Comment