काठमाडौं, २८ पुस। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका ५० जनाले उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगमा निवेदन दिएका छन्।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो ३ बजेसम्म प्राप्त विवरणमा ५० जनाले निवेदन दर्ता गराइसकेका छन्। उम्मेदवारी फिर्ता गर्न दिउँसो ४ बजेसम्मको समय तोकिएकाले अन्तिम संख्यामा केही वृद्धि हुन सक्ने आयोगले जनाएको छ।
उम्मेदवारी फिर्ता लिनेहरूमध्ये सबैभन्दा धेरै जनमत पार्टीका २० जना रहेका छन्। जनमत पार्टीले समानुपातिक तर्फ कुल ११० जनाको बन्दसूची बुझाएको थियो।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवार स्वयं आयोगमा उपस्थित भएर निवेदन दिनुपर्ने व्यवस्था छ। उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भएपछि आयोगले सम्बन्धित दललाई खाली भएको स्थानमा नयाँ नाम सिफारिस गर्न समय दिनेछ।
यसअघि राजनीतिक दलहरूले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। सूचीमा समावेश नामहरूमा क्लस्टर मिलान तथा त्रुटि सच्याउने काम पुस २७ गतेसम्म सम्पन्न भइसकेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। प्रतिनिधिसभाको निर्वाचन आगामी २१ फागुनमा हुँदैछ भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गतेका लागि तय गरिएको छ।


