काठमाडौं, २८ पुस — प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ। निर्वाचन आयोगका अनुसार यो संख्या अझै बढ्न सक्ने सम्भावना छ, किनकि सोमबार दिनभर फिर्ता प्रक्रिया जारी छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोग परिसरमै अझै केही उम्मेदवार प्रक्रिया पूरा गरिरहेका जानकारी दिँदै फिर्ता लिने संख्या थपिन सक्ने बताए।
उनका अनुसार उम्मेदवारी फिर्ता गर्न उम्मेदवार स्वयं आयोगमा उपस्थित हुनुपर्ने व्यवस्था छ भने वारेसमार्फत पनि निवेदन दिन सकिनेछ।
राजनीतिक दलहरूले यसअघि पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची आयोगमा बुझाएका थिए। त्यसपछि समावेशी क्लस्टर मिलाउन आइतबारसम्मको समय दिइएको थियो। यही प्रक्रियाका क्रममा ठूलो संख्यामा उम्मेदवारी फिर्ता भएका हुन्।
उम्मेदवारी फिर्ताको निवेदन प्राप्त भएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई औपचारिक जानकारी गराउनेछ। आयोगबाट जानकारी पाएपछि दलहरूले खाली भएको स्थानमा नयाँ उम्मेदवार सिफारिस गर्न पाउनेछन्।
आगामी प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुने तय भएको छ। समानुपातिकतर्फको सूची व्यवस्थापनसँगै अब प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया पनि निर्धारित कार्यतालिकाअनुसार अघि बढ्ने आयोगले जनाएको छ।

