आइतबार, ४ माघ २०८२
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले फागुन २१ गते तय गरिएको निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आइतबार निर्वाचन आयोगमा औपचारिक रूपमा ध्यानाकर्षण गराएको छ।
पूर्वमहान्याधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा आयोग पुगेको टोलीले माघ ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया तत्काल रोक्नुपर्ने माग राखेको छ। देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार पार्टीभित्रको विवाद समाधान नहुँदासम्म निर्वाचन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने निष्कर्षसहित आयोगसमक्ष आग्रह गरिएको हो।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई मान्यता दिएपछि देउवा पक्ष असन्तुष्ट बनेको छ। सोही निर्णयविरुद्ध देउवा पक्षले आइतबार नै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। रिटमा थापा नेतृत्वले पठाएका व्यक्तिहरूको मनोनयनपत्र दर्ता नगर्न अन्तरिम आदेशको माग गरिएको छ।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद अब न्यायालय प्रवेश गरेसँगै कांग्रेसभित्रको राजनीतिक तनाव थप चर्किएको छ। सर्वोच्च अदालतले उक्त रिटमाथि माघ ६ गते सुनुवाइ गर्ने मिति तोकेको छ।



