मङ्गलबार, ६ माघ २०८२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले मङ्गलबार (६ माघ २०८२) बाजागाजासहित निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन्।
प्रचण्ड पहिलोपटक रुकुम पूर्वबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। यसअघि पटक–पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका उनले यसपटक गोरखा–२ छोडेर रुकुम पूर्व रोजेका छन्।
माओवादी युद्धका सहिद लक्षीराम केसीका छोरा जीवन खड्काको प्रस्तावमा प्रचण्ड उम्मेदवार बनेका हुन्। उनलाई अर्का युवा नेता कालिप्रसाद रोक्काले पनि प्रस्ताव गरेका थिए भने समर्थकका रूपमा भिउमान घर्ती उपस्थित थिए।
उम्मेदवारी दर्ताका क्रममा प्रचण्डका समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। नाराबाजी र उत्साहपूर्ण वातावरणबीच मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको थियो।

