सर्वोच्च आगजनी प्रकरण : आठवटा मुद्दा खेपिसकेका अभियुक्तदेखि विद्यार्थी नेतासम्म पक्राउ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

१२ मंसिर, काठमाडौं ।
सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोड प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न आपराधिक मुद्दामा सम्लग्न व्यक्तिदेखि विद्यार्थी नेतासम्मलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार हालसम्म पाँच जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ। घटना अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गरिरहेको छ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार सार्वजनिक भएका फोटो–भिडियो र सीसीटीभी फुटेजको आधारमा पहिचान गरी छानबिन भइरहेको छ।

पहिले पनि आपराधिक गतिविधिमा संलग्न दुई जना फेरि पक्राउ

पक्राउ पर्नेहरूमध्ये काभ्रेको मण्डनदेउपुरका २३ वर्षीय कुमार पराजुली (एलेक्स नेपाली) र ललितपुर–१३ कुसुन्तीका ३६ वर्षीय राजु परियार (सम्राट) यसअघि नै हातहतियार र आपराधिक उपद्रवका मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका थिए।
जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोलबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि पराजुली पक्राउ परेका थिए। उनी काठमाडौंको गल्कोपाखास्थित एक बारका म्यानेजरसमेत हुन्।

त्यस्तै, सम्राट परियारमाथि ज्यान मार्ने उद्योगसहित आठवटा मुद्दा दर्ता छन्। सर्वोच्चमा रहेकै प्रहरीको एसएलआर बन्दुक लुटेर सिंहदरबार अगाडि कक गरेको भिडियो सार्वजनिक भएपछि उनी पुनः अनुसन्धानको दायरामा आएका हुन्।

अन्य पक्राउ पर्नेहरू

सर्वोच्च आगजनीमा संलग्न रहेको आरोपमा झापा भद्रपुर–१ की २८ वर्षीया ज्योति थापा घताने र ललितपुर महालक्ष्मीस्थान–५ का ३० वर्षीय सुशील श्रेष्ठ (ब्राउन) पनि भद्रकालीस्थित प्रहरी हिरासतमा रहेका छन्।
उनीहरू जेनजी आन्दोलनका क्रममा सर्वोच्च परिसरमा तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका हुन्। सुशीलमाथि यसअघि लागुऔषधसम्बन्धी मुद्दा पनि चलेको खुलेको छ।

विद्यार्थी नेता पनि पक्राउ

सर्वोच्च अदालत जलाउने ठाउँमा उपस्थित रहेको आधारमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
उनी पूर्वमाओवादी पृष्ठभूमिका भए पनि आगजनीमा प्रत्यक्ष सरोकार देखिने फोटो–भिडियो नदेखिएको प्रहरीले जनाएको छ। तर, उक्साउने अभिव्यक्ति दिएर आगजनीमा मतियारको भूमिका खेलेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

जाहेरी दर्ता

सर्वोच्च अदालतमा आगजनी र तोडफोड भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा आधिकारिक जाहेरी दर्ता गरिएको छ। घटनाका क्रममा सर्वोच्च अदालतभित्रका केही महत्त्वपूर्ण कागजातहरू समेत क्षति भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।

Leave a comment