काठमाडौं, २० माघ। निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको, नभएको वा नष्ट भएको अवस्थामा पनि अन्य वैध सरकारी कागजातका आधारमा मतदान गर्न मिल्ने स्पष्ट पारेको छ।
आयोगले सञ्चालन गरेको कल सेन्टरमा प्राप्त जिज्ञासाको जवाफ दिँदै यस्तो जानकारी दिएको हो। “मतदाता परिचयपत्र नभएमा मतदान गर्न पाइन्छ कि पाइँदैन?” भन्ने प्रश्नमा आयोगले ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक सक्कल कागजात भए मतदान गर्न पाइने जनाएको छ।
आयोगका अनुसार मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य शर्त हो। नाम दर्ता भएका मतदाताले सामान्य अवस्थामा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर मतदान केन्द्र जानुपर्ने हुन्छ।
तर परिचयपत्र नभएको वा नष्ट भएको अवस्थामा निम्नमध्ये कुनै एक सक्कल कागजात देखाएर मतदान गर्न सकिने आयोगले जनाएको छः
नेपाली नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
राहदानी
सवारी चालक अनुमतिपत्र
जग्गाधनी प्रमाणपूर्जा
आगामी २१ फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले मतदातालाई आवश्यक कागजातसहित मतदान केन्द्र पुग्न आग्रह गरेको छ।

