सिरहा, माघ २० – प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको राजस्व रकम सरकारी खातामा दाखिला नगरी हिनामिना गरिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका विभिन्न आठ वटा बिल काउन्टरमार्फत ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ राजस्व सङ्कलन भएको विवरण सफ्टवेयरमा देखिएको थियो। तर अस्पतालको आधिकारिक अभिलेखमा भने ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र सरकारी खातामा जम्मा भएको पाइयो।
सफ्टवेयरमा देखिएको र बैंकमा दाखिला गरिएको रकमबीचको ३८ लाख ७७ हजार ७२४ रुपैयाँ कर्मचारीहरूले मिलेमतोमा हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
को–को परे अभियोगमा?
यस प्रकरणमा तत्कालीन अस्पताल प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादव, प्रशासन प्रमुख अशोककुमार सिंह, तथा लेखा प्रमुख अशोककुमार यादव विरुद्ध जनही ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो कायम गरिएको छ।
त्यस्तै, बिल काउन्टरमा कार्यरत कर्मचारीहरूमध्ये:
श्यामकुमार मण्डल (अहेब) – २५ लाख ४७ हजार ४१७ रुपैयाँ
सरस्वतीकुमारी यादव – ५ लाख २ हजार ८१३ रुपैयाँ
अजयकुमार मण्डल – ३ लाख ७९ हजार २१ रुपैयाँ
पूजाकुमारी यादव – २ लाख ८८ हजार २२९ रुपैयाँ
रोशनकुमार यादव – १ लाख ६४ हजार ६५९ रुपैयाँ
विरुद्ध पनि बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
मृत कर्मचारीको हकमा पनि असुली माग
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस घटनामा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि सरकारी बिगो असुल गर्नका लागि उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको छ।
मृतकका हकमा कैद सजाय माग गर्न नमिल्ने भए पनि भ्रष्टाचार निवारण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार हिनामिना भएको रकम असुलउपर गराउन माग गरिएको आयोगले जनाएको छ।






