जनकपुरधाम, २१ माघ — मधेश प्रदेश सभाले बुधबार आफ्नो आठौँ वार्षिकोत्सव विविध सांस्कृतिक झलक र राजनीतिक सन्देशसहित मनाएको छ।
प्रदेश सभामा आयोजित विशेष कार्यक्रममा बोल्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्ण ले विविध भाषा, भेषभूषा र संस्कृतिको सम्मान नै संघीय लोकतान्त्रिक व्यवस्थाको वास्तविक पहिचान भएको बताए।
उनले मधेशको सांस्कृतिक विविधता उल्लेख गर्दै भने, “ढाका टोपीदेखि मिथिलाको पाग–पगडी, बज्जिकादेखि मैथिली, भोजपुरी र नेपाली भाषा, धोती–कुर्थादेखि दौरा सुरुवाल र कोटप्यान्टसम्म सबैलाई समान सम्मान दिनु नै साँचो संघीयता हो।”
डा. कर्णले विगतमा एउटै भाषा र भेषभूषा लादिएको अवस्थाको स्मरण गर्दै अहिले मधेश प्रदेश सभामा सबै पहिचानलाई सम्मानसाथ स्थान दिइनु लोकतन्त्रको सुदृढ अभ्यास भएको बताए।
कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादव ले भने राजनीतिक सन्देशमा केन्द्रित सम्बोधन गरे। उनले अप्रत्यक्ष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै एजेण्डाविहीन शक्तिहरू कार्यकारी नेतृत्वमा दाबी गरिरहेको टिप्पणी गरे।
उनले भने, “भोट किन दिने, एजेण्डा के हो भन्ने स्पष्ट नभएका दलहरू परिवर्तनको नाममा जनताको आँखामा धुलो छर्किरहेका छन्। त्यसबाट सचेत हुन आवश्यक छ।”
मुख्यमन्त्री यादवले भदौ २३ गतेको आन्दोलन ‘हाइज्याक’ गरिएको आरोप लगाउँदै रास्वपा संघीयताविरोधी रहेको दाबी पनि गरे। “जसको विधानमै संघीयता शब्द छैन, त्यही शक्ति अहिले मधेशी भावनामा खेल्न खोजिरहेको छ,” उनले भने।
वार्षिकोत्सव समारोहमा मिथिला कला, परम्परागत रंगरोगन र लोक–संस्कृतिको झल्को दिने सजावटले कार्यक्रमस्थल आकर्षक बनेको थियो। सहभागीहरू स्थानीय पहिरनमा उपस्थित हुँदा मधेशको सांस्कृतिक पहिचान झल्किएको देखिन्थ्यो।
कार्यक्रममा सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, पूर्वसांसद, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रदेश सभाको स्थापना पछिका आठ वर्षका उपलब्धि, चुनौती र भावी योजनाबारे पनि चर्चा गरिएको थियो।

