आजदेखि निर्वाचन प्रचार खुला, फागुन १८ मध्यरातसम्म अभियान गर्न पाइने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ४ फागुन — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक प्रचार–प्रसार अवधि सुरु भएको छ। निर्वाचन आयोगको व्यवस्थाअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने भएकाले दल र उम्मेदवारले आजदेखि फागुन १८ गते राति १२ बजेसम्म मत माग्न सक्नेछन्।

आयोगले निर्वाचनको स्वच्छता र विश्वसनीयता कायम राख्न सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरेको छ। प्रचार अभियानका क्रममा हुने गतिविधि अनुगमन गर्न विभिन्न संयन्त्र परिचालन गरिएको र उल्लङ्घनका घटनामा कडा कारबाही हुने चेतावनी आयोगले दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहिता उल्लङ्घन भए स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्ने तथा गम्भीर अवस्थामा उम्मेदवारी नै खारेज गर्ने कानुनी प्रावधान रहेको छ। “आचारसंहिताप्रति आयोगको शून्य सहनशीलता नीति छ,” उनले बताए।

निर्वाचन प्रचारका लागि दल तथा उम्मेदवारले तोकिएको मापदण्डभित्र रहेर पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममा विज्ञापन दिन सक्नेछन्। आमसभा वा कोणसभा आयोजना गर्दा मञ्च व्यवस्थापन लगायतको खर्च विवरण सम्बन्धित उम्मेदवार वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था पनि कायम छ।

यसैबीच आयोगले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने स्पष्ट पार्दै निर्वाचनलाई प्रभावित गर्ने गतिविधि नगर्न सचेत गराएको छ।

Leave a Comment