२३ माघ २०८२, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको अवस्थामा रहेको भन्दै यस्तो समयमा देशलाई उत्तेजनाले होइन, धैर्य र जिम्मेवारीले सम्हाल्ने शक्ति आवश्यक रहेको बताएका छन्।
शुक्रबार कास्की कांग्रेसको सभालाई सम्बोधन गर्दै सभापति थापाले समाजभित्र गहिरिँदै गएको असन्तुष्टि र आक्रोशलाई आगो लगाएर होइन, सुधार र चेतनाको राजनीतिबाट सम्बोधन गर्नुपर्ने बताए।
“आगो जसले पनि लगाउन सक्छ, तर निभाउन धैर्यता, क्षमता र साहस चाहिन्छ,” उनले भने, “आज नेपाललाई देश जोगाउने, सम्हाल्ने शक्ति चाहिएको छ।”
थापाले नागरिकहरू राज्यका संस्था, संविधान, अदालत र राजनीतिक नेतृत्वप्रति गहिरो अविश्वासमा पुगेको उल्लेख गर्दै यही अविश्वासले देशको आत्मविश्वास कमजोर बनाएको बताए। समाजभित्र ‘भित्रभित्रै आगो बलिरहेको’ अवस्था रहेको उनको भनाइ थियो।
उनका अनुसार मुलुकमा व्याप्त निराशाको मुख्य जड भ्रष्टाचार हो।
“आज नागरिकलाई सोध्यो भने नेपालको सबैभन्दा ठूलो शत्रु को हो? जवाफ एउटै आउँछ— करप्सन,” उनले भने, “त्यही भ्रष्टाचारविरुद्ध लड्ने सबैभन्दा ठूलो योद्धाका रूपमा नेपाली कांग्रेस अघि बढेको छ।”
सभापति थापाले कांग्रेस अब नयाँ संकल्पसहित अघि बढेको दाबी गर्दै पार्टीका हरेक नेता परिवर्तनको एजेन्डा बोकेर मैदानमा उत्रिएको बताए।
“हिजो हामीले देशलाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ,” उनले भने, “अब भ्रष्टाचारको आहालबाट पनि नेपाललाई बाहिर निकाल्छौँ।”
देशलाई मिलाउने, सम्हाल्ने र नागरिकको भरोसा फर्काउने जिम्मेवारी कांग्रेसले लिने दाबी गर्दै उनले निराशाको उत्तर सुधारबाटै दिने प्रतिबद्धता व्यक्त गरे।

