सूर्यकुमारको ८४ रनमा भारत विजयी, अमेरिका २९ रनले पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट
India's Mohammed Siraj, second right, celebrates the wicket of United States' Saiteja Mukkamala during the T20 World Cup cricket match between India and the United States in Mumbai, India, Saturday, Feb. 7, 2026. (AP Photo/Rafiq Maqbool)

काठमाडौँ, माघ २५ (आइतबार)
कप्तान सूर्यकुमार यादवको शानदार अर्धशतक र बलरहरूको सन्तुलित प्रदर्शनमा भारतले आईसीसी टी–२० विश्वकपमा अमेरिकामाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको छ।

मुम्बइको वानखेडे स्टेडियममा शनिबार भएको खेलमा भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अमेरिका २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमै सीमित भयो। यससँगै समूह ‘ए’ मा भारतले महत्वपूर्ण दुई अंक जोडेको छ।

लक्ष्य पछ्याउने क्रममा अमेरिका सुरुआतमै दबाबमा पर्‍यो। एन्ड्रिज गाउस ६ रनमा आउट हुँदा साईतेजा मुक्कामल्ला २ रनमै पभिलियन फर्किए। कप्तान मोनाङ्क पटेल त खाता नै नखोली आउट भएपछि अमेरिकाको इनिङ्स धरापमा पर्‍यो।

माथिल्लो क्रम असफल भएपछि मिलिन्द कुमारले ३४ रनको उपयोगी इनिङ्स खेले। त्यसपछि सञ्जय कृष्णमूर्ति र शुभम रञ्जानेले आक्रामक ब्याटिङ गर्दै आशा जगाए। कृष्णमूर्तिले ३७ रन बनाए भने रञ्जानेले २२ बलमा ३७ रन जोड्दै रनगति बढाए।

तर, अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा अमेरिका लक्ष्य नजिक पुग्न सकेन। अन्त्यतिर मोहम्मद मोहसिनले ८ रन जोडे भने शाडली भान स्काल्कवाइक २ रनमा अविजित रहे।

भारतका बलर मोहम्मद सिराजले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। अरशदीप सिंह र अक्षर पटेलले समान २–२ विकेट लिँदा वरुण चक्रवर्तीले १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। कप्तान सूर्यकुमार यादवले ४९ बलमा ८४ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए। उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए।

तिलक बर्माले २५ रन र इशान किसनले २० रनको योगदान दिए। अक्षर पटेलले १४ रन जोड्दै भारतको स्कोर १६० पार गराए।

अमेरिकाका तर्फबाट शाडली भान स्काल्कवाइक सर्वाधिक सफल बलर रहे। उनले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिँदै भारतीय ब्याटिङ लाइनअपलाई दबाबमा राखे। हर्मित सिंहले २ विकेट लिए भने अलि खानले १ विकेट हात पारे।

शनिबार नै सम्पन्न अन्य खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले हरायो भने वेष्ट इण्डिजले स्कटल्यान्डलाई ३५ रनले पराजित गर्‍यो। प्रतियोगिताअन्तर्गत आइतबार नेपाल र इङल्यान्डबीच पनि प्रतिस्पर्धा हुँदैछ।

Leave a Comment