५ फागुन
काठमाडौ ,टी–२० विश्वकपमा श्रीलंकाले अष्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्दै सुपर–८ चरणमा स्थान सुरक्षित गरेको छ। लगातार दोस्रो हार बेहोरेपछि अष्ट्रेलिया भने समूह चरणबाटै बाहिरिने दबाबमा परेको छ।
सोमबार राति भएको खेलमा अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २० ओभरमा सबै विकेट गुमाएर १८१ रन बनाएको थियो। जवाफमा १८२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमै २ विकेट गुमाएर सहज रूपमा भेट्टायो।
श्रीलंकाको जितका नायक पाथुम निसान्का बने, जसले अविजित १०० रनको उत्कृष्ट इनिङ्स खेले। कुसल मेन्डिसले ५१ रनको महत्वपूर्ण योगदान दिएर टोलीको जित सुनिश्चित गरे।
यो जितसँगै श्रीलंकाले समूह चरणका तीनै खेल जित्दै ६ अंक जोडेको छ र सुपर–८ मा प्रवेश गरेको छ। अर्कोतर्फ अष्ट्रेलिया लगातार दोस्रो पराजयपछि समूहबाटै बाहिरिने जोखिममा परेको छ। मंगलबार जिम्बाबेले आयरल्याण्डलाई हराएमा अष्ट्रेलियाको यात्रा यही चरणमा टुंगिने सम्भावना छ।
अष्ट्रेलियाले अब समूह चरणको अन्तिम खेल ओमानसँग खेल्नेछ, जहाँ उसलाई जित मात्र नभई अन्य नतिजाको पनि प्रतीक्षा गर्नुपर्ने स्थिति बनेको छ।

