आज ७६औँ प्रजातन्त्र दिवस, देशभर विविध कार्यक्रम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, फागुन ७ (बिहीबार) — आज ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

दिवसका अवसरमा मूल समारोह समितिद्वारा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आज बिहान विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको छ।

नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको गौरवपूर्ण दिनका रूपमा २००७ साल फागुन ७ गतेलाई स्मरण गरिन्छ। प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ साल माघमा बलिदान दिएका थिए।

प्रजापरिषद् नामक राजनीतिक संगठनमार्फत प्रजातन्त्र स्थापनाका लागि जनचेतना फैलाएको अभियोगमा तत्कालीन राणा शासकले उनीहरूलाई मृत्युदण्ड दिएका थिए। त्यसपछि २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र तथा निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको थियो।

जहानियाँ राणा शासनविरुद्ध जनआन्दोलन चर्किएपछि राणा शासक जनतासमक्ष झुक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो। त्यसपछि तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक व्यवस्थाको सुरुआत भएको थियो।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। जनक्रान्तिबाट राणा शासन अन्त्य भई प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा सरकारले प्रत्येक वर्ष फागुन ७ गते औपचारिक समारोहका साथ प्रजातन्त्र दिवस मनाउँदै आएको छ।

नेपालमा फागुन ७ मा प्रजातन्त्र दिवस, वैशाख ११ मा लोकतन्त्र दिवस र जेठ १५ गते गणतन्त्र दिवस मनाइने गरिएको छ।

दिवसका अवसरमा राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै मुलुकको सार्वभौमसत्ता जनतामा निहित रहने मान्यता सहिदको बलिदान र जनसंघर्षबाट स्थापित भएको स्मरण गराएका छन्।

Leave a Comment