काठमाडौं, फागुन २०, २०८२ (बुधबार) : टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल भारतको मा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
समूह चरणमै भेट भइसकेका यी दुई टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। समूह डी को खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो।
एडन मार्क्रमको कप्तानीमा रहेको दक्षिण अफ्रिका यस संस्करणमा अपराजित रहँदै सेमिफाइनल पुगेको हो। सुपर एटमा भारतलाई ७६ रनले र वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै टोलीले सशक्त प्रदर्शन गरेको छ।
यता, मिचेल स्यान्टनर नेतृत्वको न्युजिल्याण्डले पनि दबाबका खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएको हो। पाकिस्तानसँग समान अंक भए पनि नेट रनरेटमा अघि रहँदै किवी टोली सेमिफाइनलमा पुगेको हो।
टी–२० अन्तर्राष्ट्रियमा यी दुईबीच भएका १९ खेलमध्ये दक्षिण अफ्रिकाले १२ र न्युजिल्याण्डले ७ खेल जितेका छन्। विश्वकपमा भएका पाँच भेटमा भने न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउन सकेको छैन।
दोस्रो सेमिफाइनलमा भोलि भारत र इङ्ल्याण्ड भिड्नेछन् भने फाइनल खेल आगामी आइतबार हुनेछ।






