रविको मुद्दा संशोधनविरुद्धको रिट : अन्तिम बहस बाँकी, बिहीबार फैसला सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, ३ चैत २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दाको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा अन्तिम बहस बाँकी रहेको छ ।

मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ हुँदा एक पक्षको जवाफी बहस बाँकी रहेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफ्नो जवाफी बहस मात्र बाँकी रहेको जानकारी दिएका छन् । उनका अनुसार बुधबार सार्वजनिक बिदा परेकाले बिहीबार बस्ने इजलासमा बहस सकिने र त्यसपछि अदालतले निर्णय सुनाउने सम्भावना छ ।

त्रिपाठीले सबै पक्षको बहस सकिइसकेको र आफूले मात्र जवाफी बहस गर्न बाँकी रहेकाले बिहीबार नै फैसला आउन सक्ने बताएका छन् । यद्यपि, अदालतले चाहेको खण्डमा निर्णय सुनाउने छुट्टै मिति पनि तोक्न सक्ने उनले उल्लेख गरे ।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन् । सोही निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको हो ।

उक्त रिटमाथि यसअघि आइतबार र सोमबार पनि सुनुवाइ भए पनि निष्कर्षमा नपुगी हेर्दाहेर्दैमा राखिएको थियो । अब बाँकी बहस सम्पन्न भएपछि अदालतको अन्तिम निर्णय आउने अपेक्षा गरिएको छ ।


अब यो पूर्ण भयो ✔️

Leave a Comment