काठमाडौं, १५ चैत २०८२ – जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सरकारी वकिलले उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेका थिए। यसैको आधारमा अदालतले म्याद थपको आदेश दिएको दीपक कुमार श्रेष्ठले जानकारी दिएका छन्।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बेला दमन भएको थियो। सो समय एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता लेखक गृहमन्त्री थिए।
आन्दोलनको दमनबारे जाँच गर्न गठित आयोगले ओली–लेखकविरुद्ध फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो। सिफारिसको आधारमा जरुरी पक्राउ पुर्जी जारी गरी शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको थियो।
आज अदालतमा लेखक स्वयं उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए।






