मन्त्रीहरूको सम्पत्ति विवरणमा अनेक प्रश्न र आशंका प्रधानमन्त्री र गृहमन्त्रीकै जग्गा हदबन्दीभन्दा बढी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

सोमबार, ३० चैत २०८२-काठमाडौँ — बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिमण्डलका अधिकांश सदस्यहरू धनाढ्य देखिएपछि उनीहरूको सम्पत्ति स्रोतबारे विभिन्न प्रश्न र आशंका उठेका छन्।

आइतबार सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार धेरै मन्त्रीहरू करोडौँका मालिक देखिएका छन्। यससँगै उनीहरूको सम्पत्ति आर्जनको विश्वसनीय स्रोतबारे आम चासो बढेको छ।

कतिपय मन्त्रीहरूले देखाएको सुन–चाँदी, बैंक मौज्दात र घरजग्गाको विवरण उनीहरूको पृष्ठभूमिसँग मेल नखाँदा थप शंका उत्पन्न भएको छ। यस विषयमा विभिन्न क्षेत्रबाट प्रश्न उठ्न थालेपछि सम्बन्धित पक्षबाट बचाउको प्रयास पनि भइरहेको छ।

प्रधानमन्त्रीको जग्गा हदबन्दीभन्दा बढी

प्रधानमन्त्री बालेन्द्र शाहले परिवारको नाममा मधेशका विभिन्न स्थानमा १० बिगाहाभन्दा बढी जग्गा रहेको विवरण दिएका छन्। साथै पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन र आफ्नो खातामा करिब डेढ करोड रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

तर भूमिसम्बन्धी ऐनअनुसार तराई क्षेत्रमा अधिकतम १० बिगाहा मात्र जग्गा राख्न पाइने व्यवस्था छ। यस आधारमा प्रधानमन्त्रीले उल्लेख गरेको १०.२ बिगाहा जग्गा कानुनी सीमा नाघेको देखिन्छ।

गृहमन्त्रीको झनै धेरै जग्गा

गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरणमा झनै धेरै जग्गा देखिएको छ। उनले ४ करोड ३१ लाखभन्दा बढीको सेयर, ८९ तोला सुन, ६ किलो चाँदी र ६१ लाखभन्दा बढी नगद उल्लेख गरेका छन्।

उनका नाममा धनकुटामा १९ रोपनी १५ आना, चितवनमा बाबुको नाममा ३० कठ्ठा र गोरखामा बाजेको नाममा २२१ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ। यसरी कुल २६० रोपनीभन्दा बढी जग्गा देखिँदा कानुनी हद (७० रोपनी) भन्दा धेरै भएको देखिन्छ।

अन्य मन्त्रीहरूको सम्पत्ति

अन्य मन्त्रीहरूको हकमा भने कानुनविपरीत जग्गा नदेखिए पनि करोडौँ मूल्य बराबरको सम्पत्ति देखिएको छ।

अर्थमन्त्रीसँग ललितपुर, भैँसेपाटी र धुलिखेलमा घर तथा अपार्टमेन्टसहित २२ रोपनीभन्दा बढी जग्गा र ठूलो सेयर लगानी छ।

परराष्ट्रमन्त्रीसँग ३० रोपनीभन्दा बढी जग्गा, सुन, नगद र सेयर रहेको छ।

भौतिक पूर्वाधारमन्त्रीसँग विभिन्न जिल्लामा २९ रोपनी जग्गा, नगद र सुनचाँदी छ।

ऊर्जामन्त्रीसँग काठमाडौँमा दुई घर, सेयर, नगद र सवारी साधन छन्।

कानूनमन्त्रीसँग घर, नगद, सुन, सवारी साधन र सेयर छ।

महिला मन्त्रीसँग सुन, चाँदी र नगद मौज्दात छ।

सामान्य प्रशासन तथा भूमिमन्त्रीसँग काठमाडौँ र बारामा जग्गा, सुन र नगद छ।

स्वास्थ्य तथा खानेपानीमन्त्रीसँग सुन, चाँदी, नगद र सवारी साधन छन्।

शिक्षा तथा खेलकुदमन्त्रीको कुल सम्पत्ति २४ करोडभन्दा बढी रहेको उल्लेख छ।

पर्यटन, सञ्चार, कृषि, उद्योग र श्रम मन्त्रीहरूसँग पनि सुन, चाँदी, सेयर, घरजग्गा र नगद मौज्दात रहेको विवरणमा उल्लेख गरिएको छ।

कानुनी प्रश्न

भूमिसम्बन्धी ऐनअनुसार तराईमा १० बिगाहा, काठमाडौँ उपत्यकामा २५ रोपनी र अन्य पहाडी क्षेत्रमा ७० रोपनीसम्म मात्र जग्गा राख्न पाइन्छ।

यस आधारमा केही मन्त्रीहरूले देखाएको सम्पत्ति विवरण कानुन विपरीत देखिएको भन्दै कानुनी प्रश्न उठ्न थालेका छन्।

Leave a Comment