२१ दिनपछि अस्पतालबाट डिस्चार्ज भए ओली, घर फर्किए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन्। उनलाई शनिबार त्रिवि शिक्षण अस्पतालबाट घर पठाइएको हो।
ओलीको गत चैत ३० गते पित्तथैलीको शल्यक्रिया गरिएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएपछि चिकित्सकको सिफारिसमा डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
यसअघि चैत १४ गते बिहान उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि उनी निरन्तर अस्पतालमै उपचाररत थिए।
ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले हिरासत म्याद थप नगर्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि जिल्ला सरकारी वकिलको कार्यालयको निर्णयका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई हाजिरी जमानीमा रिहा गरेको थियो। तर स्वास्थ्य समस्याका कारण उनी घर नफर्की अस्पतालमै बसेका थिए।
ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक भने चैत २६ गते नै रिहा भएर घर फर्किसकेका थिए।
सरकारले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा दुवै नेतालाई पक्राउ गरेको थियो। पूर्वन्यायाधीश गौरबहादुर कार्की नेतृत्वको आयोगले आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट गोली चल्दा रोक्न पहल नगरेको निष्कर्ष निकाल्दै कारबाही सिफारिस गरेको थियो

Leave a Comment