चिया निर्यातका समस्या समाधान गर्न सरकारले गठन गर्‍यो विशेष कार्यदल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्न सरकारले विशेष कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालका अनुसार चिया निर्यातका चुनौती अध्ययन गरी समाधानका सुझाव दिन कार्यदल बनाइएको हो ।
कार्यदललाई चिया निर्यातसँग सम्बन्धित समस्या अध्ययन गरेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा गठन गरिएको कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य रहनेछन् ।
त्यस्तै भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक र द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव पनि कार्यदलका सदस्य रहने व्यवस्था गरिएको छ ।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई दिइएको छ । सरकारले चिया निर्यातमा देखिएका अवरोध हटाउन आवश्यक नीति तथा समाधानका उपाय तय गर्न कार्यदलमार्फत अध्ययन अघि बढाएको हो ।

Leave a Comment