दुवैले दर्ता गराए उम्मेदवारी, चुनावी चासो उच्च
काठमाडौँ/झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।
उक्त क्षेत्रमा ओलीको मुख्य प्रतिष्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँग हुने पक्का भएको छ। यसअघि काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका शाहले पनि मंगलबारै झापा–५ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्।
रास्वपाका सभापति रवि लामिछानेबाट टिकट पाएका शाहले मनोनयन दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै आफू परिवर्तनको एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताए। उनले झापा–५ लाई नयाँ राजनीतिक अभ्यासको केन्द्र बनाउने दाबी गरे।
यता एमालेले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी प्रचार अघि बढाएको छ भने रास्वपाले पनि शाहलाई वैकल्पिक नेतृत्वको प्रतीकका रूपमा अघि सारेको छ। दुवै प्रभावशाली नेताको प्रत्यक्ष प्रतिस्पर्धाका कारण झापा–५ राष्ट्रिय राजनीतिको प्रमुख आकर्षणको केन्द्र बनेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ को नतिजा राष्ट्रिय राजनीतिका लागि निर्णायक संकेतक बन्ने विश्लेषण गरिएको छ।

