मेसीको कीर्तिमानी प्रदर्शन, अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । कप्तान लियोनेल मेसीको उत्कृष्ट प्रदर्शनसँगै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘जे’ अन्तर्गत भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो । जितमा मेसीले दुई गोल गरे ।
खेलको ३८औँ मिनेटमा थियागो अल्माडाको चलाखीपूर्ण पास र फाकुन्डो मेडिनाको सहयोगमा मेसीले पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समय ९०+५ मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।
यससँगै मेसी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् । उनको विश्वकप गोल संख्या १८ पुगेको छ । उनले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान तोड्दै नयाँ इतिहास बनाएका हुन् ।
यसअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन् ।
खेलको सुरुवातमा मेसीले पेनाल्टी गुमाए पनि त्यसपछि शानदार पुनरागमन गरे । अस्ट्रियाका गोलरक्षक र डिफेन्सले केही उत्कृष्ट बचाउ गरे पनि अर्जेन्टिनाको आक्रमण रोक्न सकेनन् ।
जितपछि मेसीले टोली लगातार दुई जित निकाल्दै अर्को चरणमा पुगेकोमा खुसी व्यक्त गरेका छन् ।

Leave a Comment