अफगानिस्तानमा पाकिस्तानी सैन्य कारबाही, २९ जनाको मृत्यु भएको दाबी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गरेको सैन्य कारबाहीमा २९ जना मारिएको दाबी गरेको छ। पाकिस्तानी सरकारले गोप्य सूचनाका आधारमा मध्यराति अभियान सञ्चालन गरिएको जनाएको हो।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले सामाजिक सञ्जालमार्फत पाकिस्तानी सेनाले डुरान्ड रेखा नजिक स्थलगत अभियान चलाएको जानकारी दिएका छन्। त्यसपछि सीमा आसपासका क्षेत्रमा जमात–उल–अहरार र पाकिस्तान तालिबान आन्दोलन (टीटीपी) का लडाकु तथा शिविरलाई लक्षित गरी हवाई आक्रमण गरिएको उनको भनाइ छ।
पाकिस्तानी पक्षका अनुसार खैबर पख्तूनख्वाको बाजौर क्षेत्रमा भएको कारबाहीमा जमात–उल–अहरारका कमाण्डर खान फ्रोश जबालसहित केही लडाकु मारिएका छन्।
तर अफगानिस्तानको तालिबान सरकारले भने पाकिस्तानको दाबी अस्वीकार गर्दै आक्रमणमा सर्वसाधारणलाई निशाना बनाइएको आरोप लगाएको छ। तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदले महिला र बालबालिकासहित धेरै मानिस मारिएको तथा घाइते भएको भन्दै घटनाको निन्दा गरेका छन्।
सीमा क्षेत्रमा भएको पछिल्लो सैन्य तनावले पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध थप चिसिन सक्ने देखिएको छ।

Leave a Comment