काठमाडौं । नेपाली कांग्रेसभित्रको इतर समूहले आफ्नो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा आयोजना गर्दैछ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्रेसको वर्तमान अवस्था, संगठन र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।
भेलाको उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहान साढे ११ बजे गर्ने कार्यक्रम रहेको प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन्।
साउन ३१ गतेसम्म चल्ने भेलाको संयोजन कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरेका छन्।
कांग्रेसको नेतृत्व र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले हालै पुनरवलोकनको अनुमति दिएपछि इतर समूह थप सक्रिय बनेको छ। अदालतको पछिल्लो निर्णयलाई लिएर समूहभित्र नयाँ राजनीतिक सम्भावनाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
भेलामा कांग्रेसको आन्तरिक संगठन, नेतृत्वको भूमिका, पार्टीभित्र देखिएका विवाद तथा आगामी राजनीतिक दिशाबारे धारणा निर्माण गर्ने तयारी गरिएको बताइएको छ।
कांग्रेसभित्र लामो समयदेखि संस्थापन पक्षभन्दा बाहिर रहेका नेताहरूले सामूहिक रूपमा आफ्नो राजनीतिक धारणा अघि बढाउन राष्ट्रिय भेला आयोजना गरेका हुन्। भेलाबाट पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी रणनीतिबारे महत्वपूर्ण सन्देश जाने अपेक्षा गरिएको छ।

