१६२ किलो गाँजा बरामद, स्कर्टिङमा प्रयोग भएको जिपसहित दुई चालक पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मकवानपुर । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट १६२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

गाँजा बोकेको कारलाई अगाडि–पछाडि जिपले स्कर्टिङ गरिरहेको अवस्थामा प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मंगलबार बिहान पौने ३ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारको सिटमा प्लास्टिकले बेरिएका १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। कारलाई ग २ च ६१५ नम्बरको जिपले स्कर्टिङ गर्दै ल्याइरहेको खुलेको छ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै सवारीसाधनमा रहेका व्यक्तिहरू भाग्न खोजेका थिए। तर, कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा निवासी ५६ वर्षीय देवनारायण महतो र जिप चालक भरतपुर महानगरपालिका–२४ निवासी ४८ वर्षीय टेकबहादुर दोङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जिपमार्फत कारलाई स्कर्टिङ गरिएको खुलेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Comment