साइकलको सिटमुनि ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा भारतीय नागरिक पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, असोज ५ । बारामा साइकलको सिटमुनि लुकाएर ल्याइएको ७.३५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

विश्रामपुर गाउँपालिका–४ बलिरामपुरबाट प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत मोतिहारी जिल्ला नकरदेही पंचायत–२ बिर्ताटोलका करिब ४० वर्षीय दुखी साहलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय प्रसौनी र प्रहरी चौकी मुसहर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बिहान करिब ९ः३० बजे साहलाई रोकेर जाँच गरेको थियो। जाँचका क्रममा उनको साइकलको सिटमुनि प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा ७.३५ ग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।

बरामद पदार्थसहित साहलाई नियन्त्रणमा लिएर प्रहरीले लागूऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको जनाएको छ।
बारा प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार साहलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय प्रसौनीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Comment