भाकल पूरा गर्न भारत जाँदैछु, राजनीतिक अर्थ नलगाउनू : रवि लामिछाने

पढ्न लाग्ने समय : 2 मिनेट

६ कात्तिक २०८३, शुक्रबार-रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमणलाई व्यक्तिगत र धार्मिक आस्थासँग जोडिएको विषय भन्दै यसलाई राजनीतिक घटनाक्रमसँग नजोड्न आग्रह गरेका छन्।

कारागारमा रहँदा गरेको भाकल पूरा गर्न परिवारसहित भारत जान लागेको स्पष्ट पार्दै उनले भ्रमणका क्रममा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको बताएका छन्।
पत्नी निकिता लामिछानेसहित तीनदिने भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका थिए। त्यसपछि उनी सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुगेका हुन्। त्यहाँबाट उनी भारततर्फ प्रस्थान गरेका छन्।
भारत प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफ्नो भ्रमणलाई अनावश्यक राजनीतिक बहसको विषय नबनाउन आग्रह गरे। व्यक्तिगत जीवनका विषयलाई राजनीतिक दृष्टिकोणबाट मात्र हेर्न नहुने उनको भनाइ थियो।
‘कुनै राजनीतिक भेटघाट छैन। कसैले पनि यस विषयमा राजनीतिक खिचडी नपकाउन अनुरोध गर्न चाहन्छु,’ लामिछानेले भने, ‘यो मेरो असाध्यै व्यक्तिगत भ्रमण हो। कहिलेकाहीँ व्यक्तिगत कुरा र राजनीतिक कुरालाई अलग्याउन सक्नुपर्छ। त्यसलाई अलग्याउन सहयोग गर्न आग्रह गर्दछु।’
लामिछानेका अनुसार उनी कारागारमा रहँदा भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम जाने भाकल गरेका थिए। त्यही भाकल पूरा गर्ने उद्देश्यले अहिले भारत जान लागेको उनले बताएका छन्।
उनले आफ्नो भ्रमणलाई धार्मिक आस्था, पारिवारिक संस्कार र आध्यात्मिक विश्वाससँग जोडिएको विषयका रूपमा व्याख्या गरेका छन्। लामो समयदेखि भारतका धार्मिक स्थलमा पुग्ने इच्छा रहे पनि कारागारमा रहँदा गरेको भाकल पूरा गर्न अहिले भ्रमण तय गरेको उनको भनाइ छ।
भ्रमणका क्रममा लामिछाने परिवारसहित उत्तराखण्डको नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीमा रहेको कामाख्या मन्दिर पुग्ने कार्यक्रम छ। दुवै धार्मिक स्थलमा पूजाआजा गरी भाकल पूरा गर्ने उनको योजना रहेको छ।
राजनीतिक वृत्तमा विभिन्न विषयमा चर्चा भइरहेका बेला भारत भ्रमणलाई राजनीतिक भेटघाटसँग जोडेर नहेर्न लामिछानेले गरेको आग्रहलाई उनले आफ्नो व्यक्तिगत जीवन र राजनीतिक जिम्मेवारीबीच भिन्नता कायम गर्न खोजेको सन्देशका रूपमा लिन सकिन्छ।

Leave a Comment