काठमाडौँ, कात्तिक ९। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले सानदार जितसहित प्रतियोगिताको सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो। सहज जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ४० रनको योगदान दिए भने आसिफले ३२ रन बनाए।
लुम्बिनीका निरोशन डिक्वेला सात रनमा बोल्ड भए। शमिम हुसेन एक रनमा र कप्तान रोहित पौडेल पाँच रनमा अविजित रहे।
बलिङतर्फ सुदूरपश्चिमका अनिल खरेलले दुई विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका बलरसामु टिक्न नसक्दा १७ ओभर २ बलमा ८७ रनमै अलआउट भएको थियो। लुम्बिनीका किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै सुदूरपश्चिमलाई कम योगफलमा रोक्न महत्त्वपूर्ण भूमिका खेले।
८८ रनको लक्ष्य छोटो समयमै पूरा गर्दै लुम्बिनीले प्रतियोगितामा आफ्नो बलियो उपस्थितिको संकेत दिएको छ।

