२७ असाेज,बारा । बारा जिल्लामा आज असोज २७ बाट हैजा राेग महामारी बिरूद्वकाे खाेप अभियान शुरू भएको छ, जुन कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ। विश्व स्वास्थ्य संगठन (WHO) को सहयाेगमा सञ्चालित यो अभियान पर्सा जिल्लामा हैजा पुष्टि भएपछि त्यससँगै जोडिएका ६ वटा स्थानीय तहहरू: कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, बश्रामपुर गाउँपालिका र फेटा गाउँपालिकामा केन्द्रित छ। पर्साको वीरगञ्जबाट शुरू भएर बारामा पनि छिटपुट देखिएको हैजाको रोकथामका लागि थालिएको यस अभियानको शुभारम्भ प्रादेशिक अस्पतालमा जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साहलाई पहिलो खाेप ख्वाएर गरिएकाे हो। पहिलो खाेप लिनेहरूमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, प्रमुख प्रशासकीय अधिकृत नाथु साह र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी लगायतका विशिष्ट व्यक्तिहरू समेत सहभागी भएका थिए। जन स्वास्थ्य कार्यालय बाराका निमित्त प्रमुख राम नरेश यादवले जानकारी गराएअनुसार यस खाेप कार्यक्रमबाट ६ वटा स्थानीय तहका कुल ३ लाख ६५ हजार ९ सय ३१ जना लाभान्वित हुनेछन्। यो खाेप जीवन बचाउने र रोगको महामारीलाई समुदायबाट हटाउने सबभन्दा प्रभावकारी उपाय भएकाले यो खोप हाम्रै सुरक्षाको लागि हो। हैजा जस्तो घातक रोगबाट बच्न र परिवार तथा समाजलाई सुरक्षित राख्नका लागि सबैले ढुक्क भएर खाेप लिनु अति आवश्यक छ, जसले गर्दा समाजमा हैजा नियन्त्रणका लागि सकारात्मक सन्देश प्रवाह भई सामूहिक स्वास्थ्य सुधारमा ठूलो टेवा पुग्नेछ।
बारामा हैजा राेग महामारी बिरूद्वकाे खाेप अभियान आजबाट शुरू, सबैलाई खाेप लिन जनस्वास्थ्यकाे अपिल
Leave a Comment
Leave a Comment






