२२ मंसिर, काठमाडौं — तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले ‘शहीद’ घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकको निधनलाई राज्यका लागि भएको बलिदान का रूपमा स्वीकार गर्दै शहीदका रूपमा मान्यता दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
रजक २०८१ चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको विरोध प्रदर्शनको क्रममा मारिएका थिए। घटना पछिको छानबिन तथा जनचासोबीच सरकारले अन्ततः उनलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यका तर्फबाट आवश्यक सम्मान र सहुलियत उपलब्ध गराइने जनाएको छ।
मन्त्री खरेलका अनुसार, “पत्रकार सुरेश रजकलाई चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गएको अवस्थामा राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरिएको हो।”
सरकारको यो कदमले पत्रकारिता क्षेत्र तथा नागरिक समाजमा उठ्दै आएको मागलाई सम्बोधन गरेको टिप्पणी गरिएको छ।






