आजदेखि सन् २०२६ प्रारम्भ, नेपालमा पनि अंग्रेजी नयाँ वर्षको रौनक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१७ पुस,काठमाडौं : ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानेर प्रचलनमा आएको यस पात्रोलाई ग्रेगोरियन पात्रोका रूपमा चिनिन्छ।

नयाँ वर्षको आगमनसँगै यस पात्रोअनुसार चाडपर्व मान्ने समुदायले आपसी शुभकामना आदान–प्रदान गर्दै उत्सव मनाइरहेका छन्। पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्षलाई उल्लासपूर्वक मनाउने चलन उल्लेख्य रूपमा बढ्दै गएको छ।

ग्रेगोरियन पात्रो सौरमासको आधारमा तयार गरिएको मानिन्छ। वर्षमा ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्ड रहने भए पनि साना एकाइहरू दैनिक प्रयोगमा नआउने भएकाले सामान्य गणनामा समावेश गरिँदैन।

संवत् अध्ययनमा संलग्न विद्वान् डा. शास्त्रदत्त पन्तका अनुसार चन्द्रमास र सौरमासको समन्वयमा वैदिककालदेखि चल्दै आएको विक्रम संवत् वैज्ञानिक दृष्टिले अझ व्यवस्थित मानिए पनि हाल इस्वी संवत्को प्रभाव विश्वव्यापी रूपमा फैलँदै गएको छ। उनका अनुसार इस्वी संवत्मा ‘लिप इयर’ को अवधारणाबाट समय व्यवस्थापन गर्ने प्रयास भए पनि पश्चिमा मुलुकहरूमा समेत पूर्ण एकरूपता देखिँदैन।

नयाँ वर्ष २०२६ को अवसरमा काठमाडौंका ठमेल, बौद्ध, पोखरा, सौराहा लगायत पर्यटकीय क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएको छ। विदेशी पर्यटकको बाक्लो उपस्थिति रहने यी क्षेत्रहरूमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा विविध उत्सवमार्फत नयाँ वर्षको स्वागत गरिएको छ।

Leave a Comment