प्रतिनिधिसभा निर्वाचन: आजदेखि देशभर उम्मेदवारको औपचारिक प्रतिस्पर्धा सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

६ माघ,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता सुरु भएको छ। निर्वाचन आयोगका अनुसार देशका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता हुनेछ।

आयोगले उम्मेदवारी दर्ताका क्रममा आवश्यक कागजात अनिवार्य रूपमा साथमा ल्याउन आग्रह गरेको छ। उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेस गर्नुपर्नेछ।

मनोनयन दर्ताका क्रममा कुनै पनि किसिमको तडकभडक नगर्न आयोगले सबै राजनीतिक दल र उम्मेदवारलाई सचेत गराएको छ। शान्त, अनुशासित र मर्यादित वातावरणमा निर्वाचन कार्यालय पुग्न आयोगको आग्रह छ। भीडभाड कम गर्न र प्रक्रिया सहज बनाउन आयोगले प्रमुख दल र उम्मेदवारका लागि समयसमेत तोकेको जनाएको छ।

यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइसकेको आयोगले जनाएको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया समेत अघि बढिसकेको छ।

राजनीतिक दलहरू उम्मेदवार चयनको अन्तिम चरणमा पुगेका छन्। नेकपा (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको जनाएको छ भने नेपाली कांग्रेस केही क्षेत्रमा अझै आन्तरिक छलफलमै रहेको छ। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले उम्मेदवारलाई आधिकारिक पत्रसमेत वितरण गरिसकेका छन्।

आयोगले सम्पूर्ण तयारी पूरा भएको दाबी गर्दै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवार मनोनयन हुने विश्वास व्यक्त गरेको छ। विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि यो निर्वाचन हुन लागेको हो।

Leave a Comment