लिस्बन, ९ फागुन — नेपाल र पोर्चुगल सरकारबीच द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक आठ वर्षपछि पोर्चुगलको विदेश मन्त्रालयमा शुक्रबार सम्पन्न भएको छ। बैठकमा नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यमन्त्री डा. आना इसाबेल जेभियरले नेतृत्व गरेका थिए।
बैठकमा नेपाल पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक, कन्सुलर, व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति तथा विज्ञान प्रविधि क्षेत्रबारे समग्र समीक्षा गरिएको छ। दुवै पक्षले द्विपक्षीय सहयोग थप विस्तार गर्ने सहमति जनाएका छन्।
परराष्ट्र सचिव राईले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायले कागजात प्रमाणीकरण र कन्सुलर सेवामा भोगिरहेका समस्याबारे पोर्चुगल सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि सहजीकरण गर्न आग्रह गरेका थिए। उनले नेपाली समुदायलाई अवसर र सहजीकरण प्रदान गरेकोमा पोर्चुगल सरकारलाई धन्यवाद पनि दिएका छन्। हाल पोर्चुगलमा ३० हजारभन्दा बढी नेपाली दर्ता भएका छन् भने करिब ६० हजार नेपाली बसोबास गरिरहेको अनुमान छ।
पोर्चुगल पक्षका तर्फबाट जेभियरले आफ्नो देशको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्दै नेपाली पक्षले उठाएका विषयलाई सकारात्मक रूपमा सम्बोधन गर्ने बताइन्।
यसै क्रममा परराष्ट्र सचिव राईले पोर्चुगल व्यापार तथा लगानी एजेन्सी (एआइसीइपी) मा नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेका छन्। उनले जलविद्युत उत्पादन, प्रसारण र वितरणलगायत नेपालमा स्वच्छ ऊर्जाका क्षेत्रमा पोर्चुगिज लगानी आकर्षित गर्न नेपाल लगानी बोर्डसँग कार्यस्तरीय छलफल अघि बढाउन सुझाव दिएका छन्।
यसअघि सन् २०१८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पोर्चुगल भ्रमणपछि नेपाल र पोर्चुगल सरकारबीच यस्तो औपचारिक बैठक हुन सकेको थिएन।

