माइनस तापक्रममा पनि मुस्ताङ फर्कँदै मतदाता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँ नजिकैको बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र । उपल्लो मुस्ताङको तापक्रम अत्यधिक चिसो भएपछि उक्त क्षेत्रमा खोला, धारा र नदीहरुमा बरफ जम्न थलेको हो । तस्बिरः सुशीलबाबु थकाली/ रासस

मुस्ताङ, फागुन १४, २०८२: कडाकेको जाडोका कारण बेसी झरेका मुस्ताङी मतदाता प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै जिल्ला फर्किन थालेका छन्। हिमाली भेगमा तापक्रम माइनस १० डिग्रीसम्म झरे पनि मतदानमा सहभागी हुन मतदाता गाउँ फर्कन थालेका हुन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा दल तथा उम्मेदवारले बाहिर रहेका मतदातालाई गाउँ फर्काउन विशेष पहल थालेका छन्। यातायातको व्यवस्था, सम्पर्क अभियान तथा घरदैलो कार्यक्रममार्फत मतदातालाई मतदानमा सहभागी हुन आग्रह गरिएको छ।

स्थानीय तहका जनप्रतिनिधि र प्रशासनले पनि निर्वाचनको समयमा मतदाता उपस्थित गराउन समन्वय गरिरहेका छन्। जिल्लाका अधिकांश बस्ती हिमाली तथा दुर्गम क्षेत्रमा रहेकाले मौसम प्रतिकूल हुँदा आवागमन प्रभावित हुने जोखिम रहन्छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मतदान केन्द्रसम्म पुग्ने मुख्य पदमार्ग र सडकको अवस्थाबारे अनुगमन गरिएको छ। आवश्यक स्थानमा सुरक्षाकर्मी परिचालन र आवागमन सहज बनाउन पहल भइरहेको छ।

राजनीतिक दलहरूले विकास, पर्यटन प्रवर्द्धन, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारका एजेन्डा लिएर मतदातासँग संवाद गरिरहेका छन्। कडा चिसोका बाबजुद मुस्ताङमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ।

Leave a Comment