प्रतिनिधिसभा निर्वाचन : आचारसंहिता उल्लंघन उजुरीमा ८७ स्पष्टीकरण, ५७ जवाफ प्राप्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १४ फागुन २०८२।
प्रतिनिधिसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीमा निर्वाचन आयोगले हालसम्म ८७ वटा स्पष्टीकरण सोधेको छ। तीमध्ये ५७ वटाको जवाफ प्राप्त भएको आयोगले जनाएको छ।

आयोगका अनुसार प्राप्त उजुरीका आधारमा ८१ जनालाई पहिलोपटक लिखित स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको हो। उजुरीमा राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसमेत परेका छन्।

दर्ता भएका सञ्चारमाध्यम र तिनमा आवद्ध पत्रकारका विषयमा भने आयोगले कारबाहीका लागि प्रेस काउन्सिल नेपालमार्फत प्रक्रिया अघि बढाएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरी दल वा उम्मेदवार विशेष निर्वाचित हुने दाबीसमेत प्रकाशन गरेको आरोपमा एक अनलाइन सञ्चारमाध्यमसँग पनि स्पष्टीकरण माग गरिएको छ।

आयोगले प्राप्त जवाफमध्ये ५४ वटाको अध्ययन भइरहेको जनाएको छ। आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रीय र जिल्ला आचारसंहिता अनुगमन समिति, अनुगमन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई गैरआर्थिक र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयको अनुगमन जिम्मेवारी दिइएको छ। जिल्लास्तरमा आएका उजुरीमा पनि आवश्यक जाँचबुझ गरी दोषी देखिएकाविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

आचारसंहिताबारे सरोकारवालालाई जानकारी गराउने तथा पालना सुनिश्चित गराउने कार्य जिल्लास्तरमै प्रभावकारी रूपमा भइरहेको आयोगको भनाइ छ।

Leave a Comment