काठमाडौँ, फागुन १७ (आइतबार) — नेपाली काग्रेसका सभापति गगन थापाले आफूलाई सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भए आगामी पाँच वर्षलाई सुशासन र विकासको स्पष्ट परिणाम दिने अवधिका रूपमा उपयोग गर्ने बताएका छन्।
आइतबार काठमाडौँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विगतका वर्षहरू सरकार बनाउने र जोगाउने राजनीतिक खेलमै बितेकाले अपेक्षित उपलब्धि नआएको उल्लेख गरे। अबको कार्यकाल भने जनतालाई प्रत्यक्ष अनुभूति हुने परिवर्तनमा केन्द्रित गरिने उनको दाबी थियो।
“अबको पाँच वर्ष सरकार गठन र टिकाउने गणितमा होइन, परिणाममा केन्द्रित हुनुपर्छ। प्रत्येक दिन र प्रत्येक क्षण देशको सुशासन र विकासका लागि उपयोग गर्ने संकल्पका साथ हामी अघि बढेका छौँ,” उनले भने।
थापाले स्पष्ट दृष्टि, योजना र प्रतिबद्ध नेतृत्वमार्फत प्रशासनिक सुधार, सेवा प्रवाहमा पारदर्शिता र विकास आयोजनामा तीव्रता ल्याउने प्रतिवद्धता व्यक्त गरे। उनले मुलुकलाई स्थिर र परिणाममुखी दिशामा लैजान राजनीतिक दलहरूबीच सहकार्य अपरिहार्य रहेको पनि बताए।
उनका अनुसार अबको कार्यकाल प्रतिस्पर्धात्मक राजनीति मात्र नभई साझा राष्ट्रिय लक्ष्य पूरा गर्ने अवधिका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता छ।

