चितवन, २३ फागुन । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने फेरि विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन्। लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका छन्।
यसैगरी एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरुङले ४ हजार ९६९ मत पाए।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको छ भने २ हजार ७९६ मत बदर भएको छ।
लामिछानेले यसअघि पनि २०७९ को प्रतिनिधि सभा निर्वाचन र २०८० मा भएको उपनिर्वाचनमा यही क्षेत्रबाट विजय हासिल गरेका थिए। यस पटकको जितसँगै उनी चितवन–२ बाट लगातार तेस्रोपटक निर्वाचित भएका हुन्।

