काठमाडौँ, वैशाख १ — वर्तमान सरकारका गृहमन्त्री सुदन गुरुङ को कार्यशैलीप्रति सत्तारूढ दल (रास्वपा) भित्रै असन्तुष्टि चुलिएको छ। मन्त्री गुरुङले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर निर्देशन दिने र स्थानीय तहसँग समन्वय नगर्ने शैली अपनाएको भन्दै रास्वपाका सांसदहरूले प्रधानमन्त्री समक्ष औपचारिक गुनासो दर्ता गराएका छन्।
सोमबार बालुवाटारमा आयोजित भेटघाटमा बागमती प्रदेशका सांसदहरूले गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका हुन्। सांसद र ले गृहमन्त्रीले सुरक्षा तथा प्रशासनिक दायित्वभन्दा बाहिर गएर पूर्वाधार क्षेत्रमा हस्तक्षेप गरेको र आकस्मिक जिल्ला भ्रमणले स्थानीय प्रशासनलाई अप्ठ्यारो परेको बताएका थिए।
गृहमन्त्री गुरुङले पदभार सम्हालेपछि आक्रामक शैली देखाउँदै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री लगायतलाई पक्राउ गर्न निर्देशन दिएको विषयले सुरुवातमै चर्चा पाएको थियो। तर पछिल्लो समय सडक आयोजना, क्रसर उद्योग तथा विकास निर्माणस्थलमै पुगेर निर्देशन दिन थालेपछि उनको अधिकारक्षेत्रबारे प्रश्न उठ्न थालेको छ।
विशेषगरी काभ्रेको रोशी खोलामा गरिएको अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधिसँग समन्वय नभएको भन्दै आलोचना भएको छ। त्यहाँ गृहमन्त्रीको विरोधमा कालो झण्डा देखाउने प्रयाससमेत भएको बताइएको छ।
त्यस्तै, नागढुंगा–मुग्लिन सडकखण्डको अनुगमनका क्रममा पनि सम्बन्धित मन्त्रालय र स्थानीय प्रतिनिधिलाई बेवास्ता गरिएको गुनासो आएको छ। सांसदहरूले यसले संसदीय प्रक्रिया र बजेट कार्यान्वयनमा समेत असर पार्न सक्ने चेतावनी दिएका छन्।
प्रारम्भमा ‘साहसी’ कदमका रूपमा चर्चा भए पनि पक्राउ परेकाहरू हाजिर जमानीमा छुटेपछि गृहमन्त्रीको कार्यशैलीलाई ‘लोकप्रियतामुखी’ भन्दै आलोचना हुन थालेको छ। विधिको शासनभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित भएको आरोपसमेत उठेको छ।
विवादकै बीच गृहमन्त्रीले काभ्रे, धादिङ, चितवन, नवलपुर र रूपन्देहीसम्म स्थलगत अनुगमनलाई निरन्तरता दिएका छन्। नारायणगढ–बुटवल सडकखण्डको निरीक्षण गर्दै निर्माण कम्पनीलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीसँगको भेटमा सांसदहरूले गृहमन्त्रीको सक्रियतालाई व्यवस्थित र समन्वययुक्त बनाउन आग्रह गरेका छन्। विश्लेषकहरूका अनुसार गृहमन्त्रीको एकल शैलीले सत्ता गठबन्धनभित्रै अविश्वास बढाउने जोखिम देखिएको छ।

